एकादेशको कथा जस्तै बनेको मन्थली घाट बजामा (टिकाप्रसाद) को कलम…

रामेछाप — मन्थली पुल नजिकैको बजार अचेल चकमन्न छ । सँगै रहेका घरहरू थोत्रिएर पुराना भएका छन् । पहिले खुट्टा हाल्ने ठाउँ नपाइने पसल घरहरू रित्तिँदै जान थालेका छन् । दशकपहिले जस्तै फेरि यो ठाउँको गुल्जार होला भन्ने स्थानीयलाई आशा छैन ।

पहिले काठको डुङ्गा तार्ने घाट हुँदा होस् या आधुनिक झोलुङ्गे पुल निर्माण भएपछिका दिन हुन् मन्थली घाटको सानो बजारले यस प्रकारको न्यास्रो भोग्नुपरेको थिएन । जिल्लाका ठुलाबडादेखि सर्वसाधारणको लस्कर यही बाटो भएर वारि-पारि गर्दथ्यो । आजभोलि भने कोहि नौलो मानिस हिँडिहाल्यो भने पनि को हो भन्नुपर्ने दिन आएको स्थानीय ओमबाबु पुरीले बताए ।

तराईबाट पूर्वपश्चिम राजमार्गले काठमाडौं जोडेपछि पूर्वतिरबाट काठमाडौं जानेहरू आउन छाडे, नत्र पूर्वको भोजपुरदेखिबाट काठमाडौं जाने पनि यही गौंडा कटेर जानुपर्थ्यो । त्यसबेला घाटमा माझीहरूले मन्थलीतर्फ व्यापार-व्यवसाय गर्थे । पुल निर्माणपछि मात्र यो बजार बसेको हो ।

पुलको सुविधा त अन्यत्र पनि थियो । रामेछापको पश्चिमी क्षेत्रका करिब २० गाविस यहि पुल तरेर जानुपर्थ्यो । २०३४ सालमा पुल निर्माणपश्चात झन्डै ३५ वर्ष यस बजारका बासिन्दाले एकलासको अनुभव गर्नु नै परेन । त्यहि महत्त्वकै पुल भएका कारण द्वन्द्वकालमा माओवादीले पुल काटेर झार्ने कोसिस गरेका थिए । पुलका चारैवटा लट्ठा काटिरहेका बेला एक्कासी गोली पड्किएपछि माओवादी भागेर पुल बच्यो । त्यसपछि उक्त पुलमा बेलुका वारिपारि गर्न नपाइने गरी ढोका लाग्यो ।

‘काजीदास साहु र मैले अक्कर भीरमुनिको कोसीको किनारमा व्यापार सुरु गरेका हौँ‚’ व्यवसायी ज्ञानभक्त श्रेष्ठ भन्छन्‚ ‘वर्षाको बेला कोसीको डर हुन्थ्यो । अहिलेभन्दा धेरै ठूलो बाढी आउँथ्यो । त्यो बेला सतर्क भएर बस्थ्यौं । माथिको पहराबाट ढुंगा झर्ला भन्ने अर्को पिरलो पनि थियो ।’

श्रेष्ठ र काजीदासले कयौं वर्ष एकलौटी व्यापार व्यवसाय गरे । पछि पशुपतिबहादुर खड्का त्यहि पुलको गौंडोमा दोकान थाप्न पुगे । तीनै जना व्यवसायीले पश्चिमी रामेछापतर्फको आवश्यकता धानेका थिए । पुलको नाकामा नपाउने भन्ने केही थिएन । दैनिक व्यवहारलाई आवश्यक सबै सामग्री बिक्री वितरण हुन्थ्यो । नुनदेखि सुनसम्म पाइने बजार यति चाँडै यस्तो कन्तबिजोग अवस्थामा पुग्ला भनेर कसैले सोचेका थिएनन् ।’

२०७१ सालमा आकासे क्षेत्रमा पक्की पुल निर्माणपश्चात मन्थलीघाटको भाग्य खोसिएको हो । व्यापारिक सामाग्रीहरू पक्की पुल हुँदै सडक मार्ग भएर सिधै गाउँगाउँ पुग्न थाले । आकासे पुलदेखि मुगिटारतर्फको सडक मन्थलीघाट नजिकैबाट गएको छ । बजारमाथि मोटर बाटो बनेपछि बजार एक्लियो ।

मन्थली घाट बजारले चिनिने उक्त स्थानमा २५ घर पुगेका थिए । सुरुमा सार्वजनिक जग्गा थियो । पछि सरकारले अव्यवस्थित बसोबासको नाममा ९ परिवारलाई जग्गा दियो । बाँकी अहिले पनि ऐलानी जग्गामै घरहरू अवस्थित छन् ।

मुख्य नाकाको रुपमा आवतजावत घटेको सुनसान बजारमा अहिले सानोतिनो व्यापार चलेको छ । खेतमा पानी लगाउने, स्कुल जाने-आउने विद्यार्थी अनि माछा मार्ने काम गरिरहेकाहरूले बजार धानेका छन् भन्दा फरक पर्दैन । ती सबै स्थानीय नै हुन् ।

मन्थली घाट छाडेर मन्थली बजारमा सरेका रामेछाप उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्का भन्छन्‚ ‘बेलामा गुल्जार थियो, अहिले त्यस्तो के हुन्थ्यो । सामान्य किराना पसल, चिया पसलबाहेक अरु छैन । घाटमा बस्ने केहीले बंगुर पालन गरेर आर्थिक लाभ भने लिने गरेको उनले बताए ।’

सम्बन्धित समाचार