नेपाली समुदाय कतारद्वारा राजदुतावासमा पुस्तकालयको स्थापना …

वायु प्रधुशन
nepalijanatakhaba

दोहा,कतार / कतार स्थित नेपाली राजदुतावासको सभाहलमा नेपाली राजदूतावासकै संरक्षकत्वमा प्रवासी नेपाली समुदाय कतारले हिजो देखि पुस्तकालय स्थापना गरि संचालनमा ल्याएको छ । पुस्तक दिवस र श्रीपञ्चमीको अवसरमा बिहीबार साँझ दूतावासमा आयोजित एक कार्यक्रमको साथ पण्डित प्रदीप पौडेलले पूजाआजा गर्दै बिधिवत समुद्घाटन गरिएको हो ।

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालको सभापतित्व, नेपाली समाजका अगुवा तथा बुद्धिजीवी सागर नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली समुदायका कार्यक्रम संयोजक अम्बिका पौडेलले कतारमा रहेका नेपालीहरूलाई पठनपाठनमा प्रेरित गर्ने मुख्य लक्ष्य राखेको बताउदै स्थापना गरिएको पुस्तकालयबाट पठनपाठनका लागि कुनै पनि पुस्तक लानु पूर्व त्यहाँ राखिएको अभिलेख बुकमा हस्ताक्षर गरेर बढिमा २ वटा पुस्तक सीमित समयका लागि लान सकिने र अनिवार्य रुपमा फिर्ता गर्नुपर्ने पनि जानकारी गराउनु भएको थियो ।

त्यसै शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि नेपालले कतारमा करिब डेढ दशकबाट केही साहित्यिक संस्थाहरूले मोबाइल पुस्तकालयको स्थापना गरेर पाठकसमक्ष पुगेको स्मरण गर्दै त्यसकै सार रूप आजको पुस्तकालय भएको बताउनुभयो । भने अर्का वक्ता नेपाली दूतावासका द्वित्तीय सचिव प्रवीण भट्टराईले आफूले जीवनमा जानेको नै पठन रहेको बताउँदै आफ्नो कार्यकालको अन्तिम समयमा भए पनि दूतावासमा पुस्तकालय स्थापना हुँदा आफू धेरै खुसी भएको बताउनु भयो । पुस्तकालयका लागी आफूले विश्वमा जहाँ रहे पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कविता खत्रीको स्वागत मन्तव्य सङ्गै रामजी खत्रीले सहजीकरण गरेको कार्यक्रममा बोल्दै सभापति ढकालले पठन संस्कृतिको विकास गर्दै अरूलाई अध्ययनको लागि प्रेरित गर्नु सबैको दायित्व रहेको बताउदै विश्वभर रहेका कूटनीतिक नियोगहरूमध्ये सम्भवतः कतारको नियोग पुस्तकालय स्थापना गर्ने पहिलो राष्ट्र बनेको बताउनु भएको छ ।

पुस्तकालयको मलजलको लागि इमान्दारिता सबैभन्दा ठूलो कुरा रहेको उहाको भनाइ थियो ।  दूतावासको हलमा नै पुस्तकालय रहेको छ । कार्यक्रममा कतारमा स्थापित थुप्रै संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

nepalijanatakhabar

समबन्धित समाचार