मङ्सिर २१ गते बिहीवारकाे हेर्नुस् राशिफल सेयर गरी पाथिभरा माताको दर्शन गर्नुहोस् 

 

वि.सं. २०८० मङ्सिर २१ गते बिहीवार तदनुसार डिसेम्बर ०७ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३३ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त : दिउँसो ०१:०६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०१:०८ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४३ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:१३ बजे.कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०७:०६ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे. मार्गशीर्ष कृष्णपक्ष (कछलागा) दशमी तिथि, भोलि बिहान ०३:०२ बजेसम्म, त्यसपछि एकादशी तिथि,हस्ता नक्षत्र,  (अहोरात्र व्याप्त)  चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त),आयुष्मान् योग, मध्यरात्रीपूर्व ११:४७ बजेसम्म, त्यसपछि सौभाग्य योग

सुरुमा वणिज करण दिउँसो ०२:११ बजेसम्म, त्यसपछि विष्टि÷भद्रा करण भोलि बिहान ०३:०२ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक). आनन्दादि योग : राक्षस, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : गुह्येश्वरी यात्रा, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस. आजको मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने)

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २२ गते : उत्पत्तिका एकादशी व्रत (नयाँ व्रतालुले एकादशीको व्रत सुरु गर्ने दिन), राष्ट्रिय निर्माण दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक). २३ गते : द्विपुष्कर योग राती ०९:३७ बजेपछि, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक). २४ गते : श्री रवि प्रदोष व्रत (निर्णय क्षमता, पदप्राप्ति, स्वास्थ्यरक्षा र शत्रुविजय निमित्त), पशुपतिनाथ लगायत देशभरिका विभिन्न शिवालय र तीर्थस्थलहरूमा बालाचतुर्दशी मेला, धादिङ लामाचिरामा मेला, विश्व मानव अधिकार दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । प्रतिस्पर्द्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ, उता घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरा÷छोरीको चासो राख्नु राम्रो हुन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहनेछ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

धनधान्य र प्रतिष्ठाका दृष्टिले राम्रो दिन छ, साझेदारीमा कुनै व्यवसाय गर्दै हुनुहुन्छ वा कुनै यात्रामा सँगै निस्कँदै हुनुहुन्छ भने साझेदारलाई आफ्ना विचार, इच्छा र आनीबानीका बारेमा खुलेर बताउनु होला । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित भइदिंदा आर्थिक सङ्कट बढ्नसक्ने समय छ, दानपुण्यका क्षेत्रमा समेत केही रकम खर्च गर्नुपर्ने हुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ छिरबिरे÷रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । ज्ञान र अनुभूतिमा बृद्धि हुनेछ । अड्डा–अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ, त्यस्तै कुनै बाँकीबक्यौता रकमको कारोबार मिलाउनु छ भने पनि आजको प्रयास फलदायी हुनेछ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । आज ३५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

पार्टनरसँग कुनै नौलो र रमणीय ठाउँको यात्रा गर्ने तिर्सना जाग्नसक्छ, तर परिबन्दमा खुम्चनु पर्दा मन निराश बन्ने समय हो । अत्यास लाग्ने दिन छ, आफ्नै वा परिवारको कुनै स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्न सक्छ । धार्मिक र रहस्यात्मक विषयमा रुचि जाग्नेछ । सहयोगीको साथ पाइँदैन, एैनमौकामा बन्नै लागेको काम पनि बिग्रनसक्छ, उता शरीरमा पनि कमजोरी देखिने छ, तथापि कारोबारमा आफैं खटेको जाती हुन्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । भावनामा वहने समय छ, बिर्सने बानीले पनि कतिपय काममा बिलम्ब हुनसक्छ, कामप्रतिको लगावमा कमी आउनाले वरिष्ठ कर्मचारी रिसाउन सक्छन् । आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार