तनहुँ सेवा समाज कतारले आयोजना गर्ने बृहत साँस्कृतिक कार्यक्रममा नेपालबाट कलाकारद्वय अस्मिता डल्लाकोटी र बसन्त बिश्वकर्मा आउने……

 

दोहा कतार- तनहुँ सेवा समाज कतारले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम- २०२४ मा आफ्नो साङ्गीतिक प्रस्तुति दिन नेपालबाट लोक दोहोरी क्षेत्रका चर्चित गायिका अस्मिता डल्लाकोटी र गायक बसन्त बिश्वकर्मा आउने पक्का भएको छ।

नेपाली नयाँ वर्ष २०८१ तथा ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फितरको अवसरमा आगामी अप्रिल महिनाको ११ तारिक बिहीवार होटेल होलिडे भिल्लाको सभा हलमा हुने कार्यक्रमको लागी कलाकारद्वय डल्लाकोटी र बिश्वकर्मा कतार आउन लागेको समाजका अध्यक्ष पदम गिरीले नेपाली जनता खबरलाई जानकारी गराएका छ्न।

सस्थाले संचालन गर्दै आएको बहुउद्देश्यीय अक्षयकोष वृद्धिको उद्देश्यका साथ गर्न लागेको कार्यक्रममा अस्मिता र बसन्त सङ्गै कतारमा स्थापित भइसकेका ख्यातिप्राप्त कलाकारहरु ग्लोबल एन.आर.एन आइडल २०२३ की टप ५ फाइनालिस्ट गायिका गुना मगर निशु, लोक तथा दोहोरी गायिका रेश्मी बिश्वकर्मा, २०२३ मा कतारमा सम्पन्न एन.आर.एन आइडल २०२३ का विजेता रुस्तम तामाङ, नृत्य तर्फ प्रथम भएकी निरु श्रेष्ठ, चर्चित कोरियोग्राफर तथा डान्सरहरु सृष्टि श्रेष्ठ (सिम्रन), र कमल बिक्रम सुनुवार सङ्गै अन्य थुप्रै सफल कलाकारहरुको साथमा हुने यो ऎतिहाँसिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले बताएको छ।

नेपाली मौलिक पन झल्काउने तनहुँको चिनारी कौरा नाच, दोहोरी चुट्का, सालैजो, यानिमाया लगायतका दर्जनौं साङ्गीतिक प्रस्तुतिहरु सङ्गै रमाउन पाउने भएकोले उक्त दिन सम्पुर्ण दोहाबासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थित भइ कार्यक्रम सफल पार्न सहयोग गरिदिन पनि आयोजक टिमले अनुरोध गरेको छ।

“सबल र समृद्घ जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा तनहुँ सेवा समाजको अभियान” भन्ने मुल नारा सहित सन : २००४ मा कतारमा स्थापित तनहुँ सेवा समाज दोहा कतारले स्थापना कालदेखिनै प्रबास लगायत गृह जिल्लामा हुने विभिन्न सामाजिक कार्यहरुमा सक्रिय भुमिका निभाउदै आएको छ ।

नोट:- कार्यक्रम बिहान ठिक ११:३० बजे बाट सुरु हुने भएकोले सबैलाई समयमै उपस्थित भइदिन आयोजक समितिले अनुरोध पनि गरेको छ।

 

 

सम्बन्धित समाचार