तनहुँ सेवा समाज कतारले धुमधामसङ्ग मनायो नेपाली नयाँ वर्ष -२०८१…..

 

दोहा कतार- तनहुँ सेवा समाज कतारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फितर र नेपाली नयाँ वर्ष -२०८१ बिशेष बृहत साँस्कृतिक कार्यक्रम बिहीबार दोहाको नज्मा स्थित होटेल होलिडे इनको बिशाल सभाहलमा सव्य भव्य रुपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष पदम गिरीको सभापतित्व र नेपाली राजदुतावास कतारका प्रथम सचिब कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधि, बैचारिक संस्थाका प्रमुख एवंम प्रतिनिधिहरु, बिशिस्ट व्यक्तित्वहरु, सामाजिक अभियान्ता, समाजसेवी, बुद्धिजीवीहरुको साथै नेपालबाट आफ्नो साँङ्गीतिक प्रस्तुति दिन आएका कलाकारद्वय बसन्त बिश्वकर्मा, अस्मिता डल्लाकोटीको साथमा दोहामा रहेर कलाकारितामा सफल मानिएका कलाकारहरु, पत्रकार तथा मिडियाकर्मीको साथै उल्लेखनीय दर्शकहरुको साथमा कार्यक्रम सम्पन्न भएको हो।

बिधिवत रुपमा दीप प्रज्वलन सहित राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकहरुलाई सम्बोधन गर्दै सस्थाका उपाध्यक्ष मिनराज वाग्लेले स्वागत मन्तव्य राखेका थिए भने कलाकारहरु निरु श्रेष्ठ, सुनिता शेर्पा, सुनिल तामाङ, जिबन खालिङ राई, जीया हमाल कोरियोग्राफरद्वय तथा डान्सर कमल बिक्रम सुनुवार र सृष्टि श्रेष्ठ “सिम्रन”ले सामुहिक स्वागत नृत्य प्रस्तुत गरेका थिए।

समाजद्वारा संचालित बहुउद्देश्यीय अक्षयकोष वृद्धिको उद्देश सहित आयोजित कार्यक्रम हलमा भरिभराउ अतिथि तथा दर्शकहरुको बिचमा थुप्रै वक्ताहरुले बोल्ने मौका पाएका थिए भने अधिकांशले कार्यक्रमको तारिफ गर्दै यस्तो खालको कार्यक्रमले प्रवासमा रहेका नेपालीहरुलाई गाउँघरमै पुगेको अनुभव गराईदिने गरेको बताउदै कार्यक्रम आयोजक संस्थालाई धन्यवाद र उपस्थित सबैलाई इद उल फितर र नेपाली नयाँ वर्ष २०८१ को शुभकामना दिएका थिए।

कार्यक्रमको मध्य पृष्ठमा नेपालबाट आमन्त्रित कलाकार बसन्त बिश्वकर्मा पहिला स्टेज चढेको थिए बसन्तले आफ्नो वैदेशिक साङ्गीतिक यात्रालाई सम्झिदै कतारमा सबैभन्दा धेरै दर्शक पाएको बताउदै आफुलाई यस्तो ऎतिहाँसिक कार्यक्रममा सहभागी हुने अवसर जुराइदिएकोमा आयोजक परिवारलाई धन्यवाद दिए भने उनले आफ्नो प्रस्तुति अवधिभरमा रेलै घुमेर, साँइली, रेलिमै, झुमा लगायत करिब एक दर्जन गीत गाएर दर्शहरुको मन जितेका थिए ।

त्यसको साथै कार्यक्रमको दौरान कतारमा रहेर साङ्गीतिक क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल कलाकारहरु एनआरएन सिङ्गर सिजन वान Top 5 फाइनालिस्ट गायिका गुना मगर (निशु), एनआरएन आइडल कतारको सिजन ४ को बिजेता गायक रुस्तम तामाङ, गायक चन्द्र बिसि, गायिका रेश्मी बिस्वकर्मा लगायत अन्य थुप्रै कलाकारहरुले गायन तथा नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई अझै उत्कृष्ट बनाएको थिए।

साँस्कृतिक कार्यक्रमलाई सुरुदेखि नै नियाली रहेका प्रमुख अतिथि सुवेदीले आफू बोल्ने क्रममा तनहुँ जिल्लाको खुलेर प्रसंशा गरेका थिए उनले तनहुँ जिल्लालाई आदिकबी भानुभक्त आचार्यसङ्ग जोड्दै नेपाली भाषा साहित्य, कला र सस्कृतीको उद्गम स्थान भएको बताएका थिए।

कार्यक्रमको अन्त तिर नेपालबाट आमन्त्रित र कार्यक्रमको मुख्य आकर्षण रहेकि बहुचर्चित गायिका अस्मिता डल्लाकोटी कसम तिमि हौ दिलमा बसेको बोलको गीत गुनगुनाउदै स्टेजमा देखिएकी थिइन अस्मिताले पनि वसन्तले जस्तै दर्शकहरु लाई झुमाउन कुनै कसुर बाकी राखिनन उनले कलधारा पानीको,बाग्लुङ पन्चकोट लगायत आधा दर्जन गीत प्रस्तुत गरेपछि वसन्त र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतारका कलाकारहरु सङ्ग जोडदार लाइभ दोहोरी घन्काएर हलभरीका दर्शकहरुलाई एकसाथ झुमाएर नचाइन भने बाध्यबादनमा प्रतिष्ठान कतारका कलाकारहरुले साथ दिएका थिए।

समाजका महासचिव सन्तोष रेग्मीले उत्कृष्ट सहजीकरण गरेका कार्यक्रमको अन्तमा समाजलाई साथ सहयोग गर्ने विभिन्न संघ सस्था, कलाकार, मिडिया पार्टनर, पत्रकारहरु लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरे भने प्रस्तुति दिने सम्पुर्ण कलाकारहरुको कलाको सम्मान गर्दै पारिश्रमिक पनि दिएका थिए । त्यसको साथै सभापति तथा समाजका अध्यक्ष गिरीले आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम सफल बनाउन उपस्थित भइदिएकोमा खुशी व्यक्त गर्दै सम्पुर्ण लाई उपस्थितिको लागी धन्यवाद दिएर कार्यक्रम समापन गरेका थिए।

तस्बिर :- दर्शन सुनार

 

 

 

 

 

 

सम्बन्धित समाचार