दोहा,कतार- काभ्रेपलान्चोक सेवा समाज कतारले आयोजना गरेको साँस्कृतिक तथा भेटघाट कार्यक्रम- २०२६ सव्य र भव्य रुपमा सम्पन्न भएको छ ।
शुक्रबार प्लाजामल स्थित जिम्बु थकाली रेष्टुरेन्टको सभाहलमा समाजका कार्यबाहक अध्यक्ष रामहरि चौलागाईंको सभाध्यक्षता र गरैआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कतारमा स्थापित प्रदेश परिषद, जिल्ला संस्थाका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकारहरु सङ्गै काभ्रेली तथा गैर काभ्रेलीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दिउँसो करिब २ बजे नेपाली राष्ट्रिय गान बजाएर व्यानर अनावरण सङ्गै दीप प्रज्ज्वलन गरि औपचारिक रुपमा सुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सम्बोधन गर्दै समाजका सचिव सम्शेर तामाङले स्वागत मन्तव्य राखेका थिए भने गायक तथा सङ्गीतकार बिरेन्द्र श्रेष्ठले देशभक्ति गीत गाएर साङ्गीतिक स्वागत गरेका थिए ।
समाजका महासचिव महेन्द्र थापाले साङ्गीतिक प्रस्तुति र शुभकामना मन्तव्यको उत्कृष्ट तालमेल मिलाएर सहजीकरण गरेका कार्यक्रममा थुप्रै वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले कतारमा अहिले चलिरहेको अवस्थाको बाबजुद पनि काभ्रेपलान्चोक सेवा समाज कतारले साँस्कृतिक तथा भेटघाट कार्यक्रम आयोजना गरेर सम्पुर्ण नेपालीहरुलाई जोड्ने माध्यम बनाएको भन्दै आयोजक समितिलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी सागर नेपाल, नेपाली महिला समाज कतारकी उपाध्यक्ष सुष्मा खतिवडा कटुवाल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखाका अध्यक्ष कृष्ण प्रसाद ढकाल, बागमती प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष कबिन्द्र कडेल, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष टेक राज थापा, कर्णाली प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष मोतीलाल बुढा मगर, सुदुरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष गोरख चन्द ठकुरी सहित विभिन्न जिल्ला संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले बोलेका थिए भने अधिकांशले कतारको पछिल्लो अवस्था बारे जानकारी गराएका थिए ।

विशेषगरी साँस्कृतिक कार्यक्रम भएकोले साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो जस अन्तर्गत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कतार शाखामा आबद्ध भएका कलाकारहरु नारायण देबकोटा, पुकार थापा, रेश्मी सेन्चुरी, गंगा वि.सी, जमुना वि.सी, सकुर जास्मी, मनिष कुमार गोस्वामी, सुमित्रा भट्टराई लगायतले आफ्नो उत्कृष्ट प्रस्तुतीद्वारा माहोल सुरु देखि अन्त्यसम्म सङ्गीतमय बनाइदिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी पन्थीले काभ्रेपलान्चोक सेवा समाज कतारले गरेको नेपालमा एम्बुलेन्स सेवा देखि अन्य विभिन्न सामाजिक कार्यहरुप्रती आफू धेरै खुशी भएको बताए भने कतारमा पछिल्लो समय नेपालीहरुले देखाउने गरेको व्यवहार प्रती भने दु:ख लागेको बताए । पन्थीले थप बोल्दै कतारमा फ्रील्यान्सर भिषाको नाममा नेपालीले नै नेपालीलाई खुलेआम ठगिरहेको घटना सुनाउदै कतारमा त्यस्तो भिषा नभएको र कोहि पनि नेपाली फ्रील्यान्सर भिषाको भ्रममा परि नफस्नको साथै त्यस्ता व्यक्ति वा मेनपावरहरु सङ्ग सचेत रहनु पर्ने बताए । उनले कतारमा पछिल्लो समय नेपालीहरुले विभिन्न सार्वजनिक ठाउँमा गएर अत्याधिक रुपमा भिडभाड गरि फोटो भिडियो खिचेर सामाजिक संजालमा पोष्ट गर्ने गरेको र त्यस खालको गतिविधि कतार सरकारको नियम कानुन विपरीत हुने भएकोले त्यस्ता कार्यहरू सकेसम्म नगर्न र नगराउन आग्रह गरेका छन ।

अन्तमा सभापति चौलागाईंले कार्यक्रम सव्य भव्य रुपमा सम्पन्न गराउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण संघ संस्था, व्यक्ति, कलाकार, पत्रकार सबैलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथी कृष्ण पन्थीलाई मायाको चिनो र साङ्गीतिक प्रस्तुति दिने कलाकार र पत्रकारहरुलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।






प्रतिक्रया दिनुहोस्