दोहा कतार- विगतको वर्षहरुमा जस्तै नेपाल तामाङ धेदुङ प्रवास कार्यसमिति कतारले यो वर्ष पनि नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ जातिको नयाँ वर्ष मानिने सोनाम ल्होछार गत शुक्रबार एउटा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरि भव्य रूपमा मनाएको छ ।
कार्यसमितिले नेपालबाट आमन्त्रित अतिथि कलाकारहरू सेलो गायक मदन घलान तामाङ, सेलो गायिका पूजा तामाङ र म्हेन्दोमाया गायक तथा सङ्गीतकार शैलाप वाइबा तामाङ सङ्गै कतारमा रहेका झन्डै दुई दर्जन भन्दा धेरै कलाकारहरुको साङ्गीतिक प्रस्तुतीहरु सहितको विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि मञ्जुश्री संवत् २८६१ ( डुल ल्हो/सा पुख्री ) सर्प वर्गको सोनाम ल्होछार मनाएको हो ।
घेदुङ प्रवास कार्यसमिती कतार शाखाकी का.वा. अध्यक्ष कुमारी बेली गोले (सबिता) तामाङको सभापतित्व तथा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष राजु रेग्मी (राज) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको मध्यतिर स्टेज चढेका सैलापले केही वर्ष पहिले सम्म आफू कतारमा कामदारका रूपमा रहेको स्मरण गर्दै तेस्रो पटक कतार आउन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो साङ्गीतिक प्रस्तुति दिए। उनको प्रस्तुतिमा मौलिक भेष,भूषामा सजिएर आएका दर्शकहरू मजैले नाचे भने सैलापको प्रस्तुति लगत्तै स्टेज चढेकी गायिका पूजाले एला माया शङ्कालु भन्दै आफ्ना प्रस्तुति राख्न सुरु गरेकि थिइन । झम्के साँझ पर्ने बेला स्टेज चढेका अतिथि कलाकार मदनले तामाङ सेलोमा उपस्थित दर्शकरुलाई छमछमी नचाए । नेपालबाट आएका कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई सङ्गीतमय बनाइदिएका थिए ।
अबु हमुर स्थित आइडिएल इन्डिएन स्कुलको हलमा भएको कार्यक्रममा कतारमा रहेका दर्जनौँ कलाकारहरूको साङ्गीतिक प्रस्तुतिले पनि उत्तिकै रौनक थपेको थियो । कार्यक्रम स्थलमा मौलिक भेषभूषामा सजिएर आएका दर्शकहरूले साँझ ७ बजे सम्म पनि कलाकारको साथ छोडेनन् । नेपालबाट आमन्त्रित कलाकार सँगै आयोजकहरू एकै पटक झुम्दा कतारको चिसोलाई सङ्गीतले जितेको थियो । झाँकी, नृत्य सहित उद्घाटन गरिएको कार्यक्रममा सांस्कृतिक झाँकी, तामाङ सेलो, ताम्बा नाच, लामा नाच, म्हेन्दोमाया लगायत विभिन्न नेपाली तथा तामाङ संस्कृतिका प्रस्तुति रहेको थियो ।
कतारमा स्थापित विभिन्न संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा आमन्त्रित अतिथि सहित प्रत्येक व्यक्तिलाई प्रवेशद्वार मा नै खादा लगाएर स्वागत गरिएको थियो भने संस्थापक अध्यक्ष एक्का प्रसाद तामाङले कार्यक्रमको बारेमा जानकारी दिँदै उपस्थित सबैलाई स्वागत गरेका थिए ।
राम बहादुर तामाङ र सपना घलानले मिलेर सहजीकरण गरेका कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले तामाङ समुदायको अन्य समुदायको भन्दा छुट्टै र खास चाडपर्वहरु रहेको र कतारमा पनि यो समुदायले आफ्नो चाडपर्वहरु विशेष तरिकाले मनाउने गरेको अनुभव गरेको बताए । उनले तामाङ समुदायले मनाउने जुनसुकै चाडपर्वमा पनि तामाङहरुको बक्लो उपस्तिथि रहने र सोनाम ल्होछार कार्यक्रममा पनि त्यो देख्न पाउदा खुशी लागेको बताउदै उपस्थित सबैलाई सोनाम ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।
अन्तमा सभापति तामाङले कार्यक्रमका संयोजक फुर्वा ग्याबा तामाङ, सांस्कृतिक संयोजक सुर्जे तामाङ सहित व्यवस्थापनमा खटिने, सुरक्षा तथा स्वयंसेवकका रूपमा खट्ने, सहयोगी, प्रायोजक र उपस्थित सम्पूर्णलाई कार्यक्रम सफलताको श्रेय दिएकी थिइन् भने नेपाल तामाङ ताम्बा घेदुङ, प्रवास कार्यसमिति, नेपाल तामाङ लामा घेदुङ, प्रवास कार्यसमिति, नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यसमिति, नेपाल तामाङ महिला घेदुङ, प्रवास कार्यसमिति र नेपाल तामाङ युवा घेदुङ, प्रवास कार्यसमिति कतार कार्यक्रममा सह-आयोजकका रूपमा रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिहरूलाई तामाङहरूको पोसाक (तागी) टोपी लगाई सम्मान गरिएको थियो भने तमु प्ये ल्हु संघ कतार शाखाबाट सामूहिक रूपमा आयोजक संस्थालाई विभिन्न कोसेली पनि प्रदान गरेका थिए ।
यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।
प्रतिक्रिया दिनुहोस्