अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ग्रिनल्यान्ड ‘अपरिहार्य’ दाबी, अमेरिका–डेनमार्कबीच कूटनीतिक तनाव

वायु प्रधुशन
nepalijanatakhaba

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिएको ग्रिनल्यान्ड संयुक्त राज्य अमेरिकाका लागि ‘अपरिहार्य’ रहेको दाबी पुनः दोहोर्‍याएका छन्। यस विषयमा उनले पहिलेदेखि लिँदै आएको अडान फेरि सार्वजनिक गरेका हुन्।

ह्वाइट हाउस फर्किएलगत्तै ग्रिनल्यान्डका लागि विशेष दूत नियुक्त गरेपछि अमेरिका र डेनमार्कबीच गम्भीर कूटनीतिक तनाव सिर्जना भएको छ। आइतबार ट्रम्पले लुइसियानाका गभर्नर जेफ ल्यान्ड्रीलाई विशेष दूत नियुक्त गर्दै ग्रिनल्यान्डलाई अमेरिकी नियन्त्रणमा राखिनुपर्ने धारणा व्यक्त गरेका थिए।

फ्लोरिडाको पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ग्रिनल्यान्डको खनिज स्रोतभन्दा पनि त्यहाँको सामरिक स्थान र राष्ट्रिय सुरक्षाको महत्त्व बढी रहेको बताए। ग्रिनल्यान्ड वरपर रुस र चीनको बढ्दो सैन्य गतिविधिले अमेरिकाको सुरक्षामा चुनौती थपिएको उनको तर्क छ।

तर, विशेष दूत ल्यान्ड्रीले ग्रिनल्यान्डलाई ‘अमेरिकाको एक भाग’ बनाइनुपर्ने अभिव्यक्ति दिएपछि डेनमार्क सरकार कडा रूपमा असन्तुष्ट बनेको छ। डेनमार्कले अमेरिकी राजदूतलाई बोलाएर स्पष्टीकरण माग्दै ट्रम्प प्रशासनको कदमलाई आफ्नो सार्वभौमसत्तामाथिको हस्तक्षेप र पूर्ण रूपमा ‘अस्वीकार्य’ भनेको छ।

यसैबीच, डेनमार्क र ग्रिनल्यान्डका प्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै कुनै पनि देशले अर्को देशको भूभाग विलय गर्न नसक्ने र ग्रिनल्यान्ड बिक्रीका लागि नभएको स्पष्ट पारेका छन्। युरोपेली सङ्घले पनि डेनमार्कको क्षेत्रीय अखण्डताप्रति समर्थन जनाएको छ।

स्थानीय सर्वेक्षणहरू अनुसार ग्रिनल्यान्डका बासिन्दाहरू डेनमार्कबाट स्वतन्त्र हुन चाहना राखे पनि अमेरिकाको हिस्सा बन्न भने उनीहरू पूर्ण रूपमा अनिच्छुक देखिएका छन्।

खनिज स्रोत, नयाँ समुद्री ढुवानी मार्ग र सैन्य रणनीतिको दृष्टिले अत्यन्त संवेदनशील मानिने ग्रिनल्यान्डलाई लिएर वासिङ्टन र कोपनहेगनबीचको सम्बन्धमा अहिले गहिरो दरार देखिएको छ।

nepalijanatakhabar

समबन्धित समाचार