दोहा,कतार- विश्वकर्मा समाज कतारले ‘कलाकार सम्मान तथा सृजना प्रतिभा प्रस्तुति कार्यक्रम–२०२६’ भव्य रूपमा सम्पन्न गरेको छ। समाजले शुक्रवार दोहास्थित गोर्खाली रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष दिपक किश्वकर्माको सभाध्यक्षता र दलित एकता संजालका अध्यक्ष प्रकाश विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।
दिउँसो करिब २ बजे दीप प्रज्ज्वलन सहित नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा कतारस्थित दलित तथा गैर दलित समुदायका नेपाली, विभिन्न कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, कलाकार तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने समाजले विभिन्न गतिविधि तथा कार्यक्रम मार्फत कला क्षेत्रमा योगदान पुर्याउने कलाकार तथा कतारमै रहेर नेपाल र समग्र नेपालीहरुको हकहितको लागि निरन्तर कलम चलाई रहेका पत्रकारहरूलाई सम्मान पत्रद्वारा सम्मान गरेको थियो ।

सम्मान कार्यक्रममा सहभागी कलाकारहरुले आ-आफ्नो तर्फाबाट विभिन्न सृजनात्मक प्रतिभाहरु सङ्गै गायन तथा नृत्यका विविध साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । भने कार्यक्रममा बोल्ने वक्ताहरूले कार्यक्रमको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नेपाली कला, संस्कृति तथा प्रतिभाको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै यस्ता गतिविधिलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा परियार मित्रता समाजका प्रमुख संरक्षक ठाकुर कुमार परियारले व्यक्तित्व र व्यवहार सुधारसँगै सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नु पर्नेमा जोड दिए। उनले जातीय सद्भाव, सामाजिक एकता र आपसी सम्मानलाई सुदृढ बनाउन सामाजिक सञ्जाल मार्फत कुनै पनि समुदाय प्रति अपमानजनक अभिव्यक्ति नदिन आग्रह गर्दै विगतमा कलाकार तथा पत्रकारहरूको श्रमको उचित मूल्याङ्कन नभएले रहेको उनीहरूको श्रम, योगदान र पेसागत सम्मानको कदर गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै दलित एकता सञ्जाल कतारका अध्यक्ष प्रकाश विश्वकर्माले दलित समुदायबिच एकता आवश्यक रहेको बताउँदै एकताबाटै हक, अधिकार र अवसर सुनिश्चित गर्न सहज हुने धारणा व्यक्त गरे भने कार्यक्रममा मन्तव्य राखेका धेरै जसो वक्ताहरूले सुख दुःखको हरेक अवस्थामा समुदाय र समाजको आवश्यकता रहने भएकाले सबैलाई सामाजिक संस्थासँग आबद्ध हुन आग्रह गरेका थिए ।

समाज कतारका अध्यक्ष दिपक विश्वकर्माले प्रवासको व्यस्त जीवनका बाबजुद कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका कलाकारहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले सम्मानित सबै कलाकारहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यका लागि शुभकामना व्यक्त गरेका थिए । करिब साँझ ६ बजेसम्म चलेको कार्यक्रम समाजका महासचिव दिपक बि.कले सहजीकरण गरेका थिए भने वरिष्ठ उपाध्यक्ष पितामबर बिश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।





प्रतिक्रया दिनुहोस्