कार्तिक ०५ गते सोमवारको हेर्नुस् राशिफल सेयर गरी पाथीभरा माताको दर्शन गर्नुहोस् 

आजको पञ्चाङ्ग : वि.सं. २०८१ कार्तिक ०५ गते सोमवार तदनुसार ई. सं. २०२४ अक्टोबर २१ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, चन्द्रास्त : बिहान ०९:०३ बजे र चन्द्रोदय : बेलुका ०८:३५ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:४६ बजे, कार्तिक कृष्णपक्ष (कौलागा) चतुर्थी÷चौथी तिथि, बिहान ०९:०० बजेसम्म, त्यसपछि पञ्चमी तिथि, रोहिणी नक्षत्र, दिउँसो १२:१९ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, चन्द्रमा बृष राशिमा, मध्यरात्रीपूर्व ११:५८ बजेसम्म, त्यसपछि मिथुन राशिमा, वरीयान् योग, साँझ ०५:२१ बजेसम्म, त्यसपछि परिघ योग , सुरुमा बालब करण बिहान ०९:०० बजेसम्म, त्यसपछि कौलव करण बेलुका ०८:१९ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : सेतो (मध्यरात्रीपूर्व ११:५८ बजेसम्म), त्यसपछि पहेंलो, चन्द्रदिशा : दक्षिण (मध्यरात्रीपूर्व ११:५८ बजेसम्म), त्यसपछि पश्चिम, योगिनीदिशा : नैऋत्य (बिहान ०९:०० बजेसम्म), त्यसपछि दक्षिण, वारशूल : पूर्व, वाणपञ्चकमध्ये नृप (राज) वाण : बेलुका १०:२७ बजेसम्म, नक्षत्र शूल : पश्चिम, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने)

 

 

 

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०६ गते : मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), ०७ गते : मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), ०८ गते : अष्टमी व्रत, गोरखकाली पूजा, सशस्त्र प्रहरी दिवस, संयुक्त राष्ट्र संघ दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

 

 

 

 

 

 

 

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

 

सञ्चार वा नेटवर्किङका विभिन्न माध्यमले अल्मल्याउन सक्छन् । पराईसँग व्यवहार गर्दा शब्दहरूको चयन र प्रस्तुतिमा ध्यान दिनुहोला । धनको सहजता देखिए पनि खर्च गर्नुपर्दा होस राखेर चल्नुपर्ने समय छ । अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाती हुन्छ । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ । आज ५५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

आत्मविश्वास र मनोबल बढ्ने समय हो, तर प्रतियोगी वा प्रतिद्वन्द्वीका कारण केही चुनौतीहरू थपिन सक्छन् । अहिलेको संघर्ष र मिहिनेतले निकट भविष्यमा राम्रो नतिजा प्रदान गर्नेछ । आम्दानी बढ्नेछ । कुनै प्रशासनिक वा व्यवस्थापकीय कार्यका लागि अनुकूल समय छ । तामा र रातो चिजबीजमा फाइदा देखिन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ दैत्यगुरवे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो, त्यस्तै तपाईंमा दिकदारी र चिडचिडेपन पनि हाबी हुनसक्छ । धनको मामिलामा उदासीन बन्नुहुँदैन, त्यस्तै कुनै पनि ठूला निर्णयहरू लिनुहुँदैन । कुनै काम गर्ने हो भने केही समय योजना बनाउनुहोस्, अनुभवी र सिनियर्सको सुझाव ग्रहण गर्नुहोस्, अनिमात्र काम थाल्नुहोस् । महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सकारात्मक बन्ने प्रयास गर्नुहोला किनभने आपसी समन्वय त्यस्तो उज्यालो बन्नसक्छ, जसले निराशा र छटपटीको अन्धकारलाई हटाउनेछ र मनका तुस हटेर जानेछन् । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै विशेष अवसर दिलाउन सक्छ । थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । प्रतिष्ठा बढ्ने दिन हो, वंश, कुल र पितृपक्षका विषयमा आकर्षण देखिने छ, कार्यक्षेत्रमा पनि वरिष्ठ कर्मचारी प्रसन्न रहनेछन् । अझ बृद्धबृद्धा वा मान्यजनको सेवाचाकरी गरेमा भाग्यबल बढाउन सकिने छ । आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । कुनै नौलो विषयको अनुभव प्राप्त हुनेछ, जसले तपाईंको कार्यशैलीमा सुधार गर्नेछ । वरिष्ठ कर्मचारीको मद्दतले नसुल्झिएको गुत्थी सुल्झाउन सकिने छ । आज ७५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ रङ्गीबिरङ्गी वा छिरबिरे÷बुट्टे र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कसैलाई पनि आँखा चिम्लिएर झट्ट विश्वास गर्नुहुँदैन, कार्यक्षेत्र वा व्यवसायमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । अस्वस्थताका बावजुद काममा जुट्नै पर्ने परिस्थिति छ, सुस्वास्थ्य र आरामका लागि समय छुट्याउनु तथा पौष्टिक आहारामा ध्यान दिनु ठीक हुन्छ । आज ३० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

सबैको सहयोग प्राप्त हुनाले ताकेको कामबाट छिट्टै फुर्सद पाइने छ र नयाँ काममा हात हाल्ने मानसिकतासमेत बन्नसक्छ । यो रचनात्मक उर्जाले भरिपूर्ण समय हो, प्रियजनसँगको भेटघाटले वातावरण रमाइलो बन्नेछ । कामको चाप बढे पनि मनमा सन्तुष्टिको आभास हुने राम्रो दिन छ, आज गैरलाभकारी कामतर्फ समेत मनको आकर्षण रहने छ । मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

निरङ्कुशता, घमण्ड र अहङ्कारलाई त्यागेर प्रगतिपथमा लम्कने समय हो, आजको कुनै एउटा राम्रो निर्णय तपाईंको सुखद अनुभवको कारक बन्नेछ । दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । अवरुद्ध कार्यलाई पूरा गर्न पाउँदा अपार आनन्दको अनुभूति हुनेछ, तर स्वास्थ्यमा सामान्य प्रभाव पर्ने दिन हो, आवश्यक भए चिकित्सकको परामर्श लिनु राम्रो हुन्छ । आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

 

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सन्तान वा सहयोगी कामदारको सहयोग लिएर व्यवस्थापन पक्षको लथालिङ्गलाई मिलाउन प्रयास गरिने छ, बुद्धिकौशल तथा समझदारीले कमीकमजोरी हटाउन सकिने छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ । पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । आज १५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्छ । आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ । सामाजिक गतिविधिमा खट्ने दिन हो, धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

 

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

सम्बन्धित समाचार