मर्नुअघि अमृताको पीडाः ‘माइती भन्छन् घर जा, घरका भन्छन् माइत जा, म कहाँ जाउँ

 

बुटवल – रुपन्देहीको तिलोत्तमा-२ की अमृता खत्री टण्डन मर्नुअघि दोहोरो चेपुवामा परेकी थिइन्। मर्नुअघि उनले आफ्ना दाजुलाई पठाएको म्यासेजमा अमृता घर र माइतीको दोहोरो चेपुवामा परेको दखिएको छ।

 

 

 

चैत ३० गते राति साढे ९ बजे अमृताले आफ्ना दाजु पुष्पक खत्रीको मोबाइलमा म्यासेज लेख्दै भनेकी थिइन्, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, म हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न सहयोग गर्नु।’

 

 

 

बहिनीको म्यासेज मोबाइलमा हेरेपछि दाजु पुष्पकले केही हुन लागेको हो कि भन्ने अड्कल काटे। तर, उनले बहिनीलाई माइत बोलाएनन्। किनकि बहिनी अमृता माइतबाट सोही दिन घटना घट्नुभन्दा आधा घण्टा पहिले नै घर पुगेकी थिइन्।

 

 

उनको घर र माइतीबीचको दूरी करिब चार सय मिटर टाढा छ।तिलोत्तमा नगरपालिका-२ जानकीनगरस्थित वरपिपल पथमा रहेको माइतीबाट अमृता करिब साढे आठ बजेतिर भेटेनरी लाइनस्थित आफ्नो घर गएकी थिइन्।

 

 

अमृता माइतमा रहेको बेला श्रीमानले फोन गरे। पहिलो र दोस्रो फोन उनले उठाइनन्। तेस्रो पटक फोन आएपछि उनले फोन उठाउँदै मलाई टाउको दुःखेको छ, माइतै बस्छु भनेकी थिइन्। अमृताका दाजु पुष्पक भन्छन्, ‘तर श्रीमानले अलि बढी नै प्रेसर गरेपछि बहिनी घर गएकी हो।’

 

 

 

अमृताले आफ्नो घर पुगेपछि दाजु पुष्पकको मोबाइलमा राति ९ बजेर १४ मिनेटमा म्यासेज पठाएकी थिइन्। ‘माइतीले भन्छन् तेरो घर जा, घरकाले भन्छन् तेरो माइती जा। चेलीको जिन्दगी पनि कस्तो घर न घाटको, अब त्यो चेली कहाँ जाने?

 

माइतीलाई इज्जत प्यारो भयो, बिहे गरेर गएकी चेलीलाई घरकाले टिक्न न दिने चेलीको फेर्ने सास गयो,’ अमृताले लेखेकी थिइन्।बहिनीले पठाएको म्यासेज हेरेपछि दाजु पुष्पकले बहिनीलाई सम्झाए। उनले म्यासेज पठाउँदै भने-“तँजस्तो मान्छे मर्ने कुरा गर्ने हाे? भोलि भान्जासँग आइजा कुरा गरौंला।’

 

 

 

तर उक्त म्यासेजको जवाफ अमृताले पठाइनन्। त्यसपछि राति पौने १० बजेतिर अमृताका श्रीमान प्रेम टण्डनले पुष्पकलाई फोन गर्दै भने, ‘अमृताले विष सेवन गरेकाले अस्पताल ल्याएका छौं।

 

 

 

अमृताले पछिल्लो म्यासेज आफ्ना दाजु पुष्पकलाई राति ९ बजेर ३२ मिनेटमा पठाएको देखिएको छ। अस्पतालले ९ बजेर ५० मिनेटमा उनलाई मृत घोषणा गरेको थियो। अमृताको मृत्युपछि अहिले दिनहुँ प्रदर्शन भैरहेको छ।

 

 

अमृताका माइती पक्ष र आफन्तले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरिरहेका छन् भने सडकमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन्। अमृताले विष सेवन गरेको नभई घरपरिवारले सुनियोजित रूपमा विषादी खुवाएर हत्या गरेको माइती पक्षको आरोप छ।

 

 

नौ वर्षअघि प्रेम टण्डनसँग अमृताको प्रेम विवाह भएको थियो। त्यतिबेला अमृता प्लस टु पढ्दै थिइन्। केटा पक्षकै प्रस्तावमा अमृतालाई विवाह गरिदिएको दाजु पुष्पकले बताए।

 

 

प्रेमको परिवारबाट सुरूमा माग्न आए पनि अमृताको मावली टण्डन भएकोले सुरूमा उक्त सम्बन्धलाई माइती पक्षले स्वीकारेका थिएनन्। दाजु पुष्पकका अनुसार पछि प्रेमको परिवारले भगाएर विवाह गरे र अमृतालाई भारतमा लगेर गए।

 

 

 

विवाहको एक वर्षसम्म माइती पक्षले ढोगभेटसमेत दिएनन्। तर, पछि अमृताको छोरा जन्मेपछि माइती पक्षले बोलाए र ढोगभेट दिए। केही समय राम्रै चलेको सम्बन्धमा तीन चार वर्षयता भने कलह निम्तिन थालेको थियो।

 

 

 

अमृताका श्रीमान प्रेम भारतमा जागिर गर्थे। उनी घरका एक्ला छोरा थिए। तर भारतबाट फर्केपछि भने उनी बेरोजगार भएका थिए। श्रीमानले बेरोजगार भएपछि अमृता पनि सासु ससुरामाथि नै निर्भर थिइन्। भागेर विवाह गरेकाले सामान्य समस्या माइतीमा लगेर सुनाउन पनि सकेकी थिइनन्।

 

 

 

बहिनी र ज्वाइँको सम्बन्ध राम्रो नभएको थाहा पाएका पुष्पकले बेलाबेला बहिनीको आर्थिक समस्यामा सहयोग गर्थे। तर उनले बहिनीलाई घरप्रतिको जिम्मेवारीबाट नभाग्न भनेर सम्झाइरहन्थे।

 

 

चैत ३० गते साँझ पनि उनले बहिनीलाई परिवारले जति नै दोष लगाउने गरे पनि आफू जिम्मेवारीबाट नचुक्न भन्दै सम्झाएका थिए।

 

 

गत भदौमा परिवारले सामान्य विषयमा पनि कमजोरी देखाएर खोट लगाउने, खाना खाँदा विभेद गर्ने, मानसिक रूपमा सधैँ टर्चर दिइरहँदा घरमा बस्न नसक्ने भन्दै वडा नं. २ को कार्यालयमा अमृताले निवेदन दिइन्। वडामा निवेदन दिएर माइत गएपछि खटपट झनै बढ्यो।

 

 

 

भदौ १७ गते वडाध्यक्ष दधिराम गौतमको रोहबरमा वडा सदस्यहरू, वडा सचिव, घर र माइती पक्षको बीचमा छलफल गरी अबका दिनमा घरपरिवारले सामान्य विषयमा खोट नदेखाउने र घरमा बस्ने वातावरण मिलाउने तथा अमृता पनि घरमै गएर बस्ने गरी दुबै पक्षले लिखित सहमति गरेका थिए।

 

 

 

त्यसपछि अमृता घरमै गएर बसे पनि श्रीमान र सासुसँगको सम्बन्ध सुमधुर बन्न सकेको थिएन। उक्त सहमतिपछि अमृताले परिवारले मानसिक रूपमा पीडा दिने गरे पनि माइतीलाई भनेकी थिइनन्। गत असोजमा पुष्पकको विवाह भयो। अमृता छोरालाई लिएर दाजुको विवाहमा माइती गइन्।

 

 

 

जेठानको विवाह हुँदा प्रेम भने ससुराली गएनन्। पुष्पकले बहिनी र ज्वाइँको सम्बन्ध नसुधारिएको त्यतिबेला पनि पत्तो पाइसकेका थिए । घरभित्रको कुरा वडा कार्यालयमा समेत पुगेको कारण परिवारको बीचमा अझै पनि मतभेद रहेको हुन सक्ने भन्दै उनले त्यो विषयमा कुरा गर्न चाहेनन्।

 

 

 

दुई दाजुकी एकमात्र बहिनी अमृता माइतीमा पनि सबैभन्दा नजिक पुष्पकसँग नै थिइन्। घरपरिवारसँगको सम्बन्ध जति सुधार्न खोजे पनि राम्रो बन्न नसकेपछि उनले दाजुलाई पनि भन्न छोडेकी थिइन्।

 

 

बरू दिनभरि घरमा बसेर झनै मानसिक तनाव झेल्नुभन्दा जागिर गर्ने भन्दै केही महिनादेखि तिलोत्तमा नयाँमिलस्थित फर्निचर उद्योगको लेखा शाखामा काम गर्न थालेकी थिइन् । प्रेम भने दिनभरि आमासँगै घरमै बस्थे।

 

 

पुष्पकका अनुसार अमृता दिनभरि काममा गए पनि साँझ-बिहान घरपरिवारसँग झगडा भइरहन्थ्यो। परिवारले अमृतालाई महिनाभरि काम गरेको पैसा कहाँ खर्च गर्छेस् भनेर तनाव दिने गरेको दाजु पुष्पक बताउँछन्। नजिकै भएकाले घरपरिवारमा भएका सामान्य झगडा पनि माइती पक्षले थाहा पाइहाल्थे।

 

 

 

झगडा हुँदा दाजु पुष्पक र भाउजु मुना अमृताको घरमा पुग्थे र बहिनी, ज्वाइँ दुबैलाई नै सम्झाएर फर्किन्थे।चार–पाँच दिनपहिले अमृताले आफूलाई भारत जान परिवारले दबाब दिइरहेको तर आफूलाई जाने इच्छा नभएको पुष्पकलाई बताएकी थिइन्।

 

 

 

यहाँ हुँदा घरपरिवारले हेला गरे पनि माइतीको सहारा रहेकाले भारत जान नचाहेको बरू कुनै तेस्रो मुलुक जान पाए रोजगारीको लागि जानुपर्छ कि भनेर दाजुसँग सल्लाह गरेकी थिइन्।

 

 

 

चैत २९ गते साँझ पनि श्रीमानले कुटपिट गरेको भन्दै अमृताले रूँदै दाजुलाई फोन गरिन्। पुष्पक र मुना तुरून्तै घरमा पुगे। घरमा पुग्दा घर वरिपरिका मानिस जम्मा भइसकेका थिए ।

 

 

 

अमृताकी सासु दीपा टण्डनले दाजुभाउजुलाई घरमा नछिर्न भनिन् । दुई पक्षबीच केहीबेर भनाभनसमेत भयो। घर फर्किँदा पुष्पकले बहिनीमाथि कुनै नराम्रो भए आफूले नछोड्ने भनेका थिए।

 

 

 

चैत ३० गते बिहान अमृता फर्निचर उद्योगमा काममा जानु पहिले माइती गएकी थिइन। पुष्पकले बहिनीलाई अरू दिनभन्दा त्यो दिन बढी निराश देखेका थिए। उनी खानासमेत नखाई काममा गइन् । पुष्पक आफैंले अफिस पु¥याइदिए । साँझ फेरि झोलामा केही जोर कपडा बोकेर अमृता माइती गइन्।

 

 

 

माइतीमै रहेको बेला श्रीमानले फोन गर्दै चेतावनी भाषमा भनेका थिए-‘वर्षको अन्तिम दिन चैतको मसान्तीमा घरभन्दा बाहिर गएर बस्यो भने परिवारको कान्छो सदस्यलाई नराम्रो हुन्छ रे।’ घरका कान्छा सदस्य अमृताका छोरा आदित्य थिए।

 

 

 

प्रेमले छोरालाई केही भयो भने त्यसको जिम्मेवार तँ आफैं हुनुपर्छ भनेर चेतावनी दिएपछि अमृता साढे आठ बजेतिर माइतीबाट घर फर्किएकी थिइन् । तर त्यो दिन नै अन्तिम दिन बन्न पुगेको पुष्पकले बताए। ‘अब हामीलाई न्याय चाहिएको छ,’ उनले भने।

 

 

 

अमृताको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको भए पनि अहिलेसम्म पोष्टमार्टम हुन सकेको छैन । उनको मृत्यु किटनाशक विषादीको प्रयोगबाट भएको चिकित्सकलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

 

 

 

बालीनालीमा लाग्ने किराफट्याङग्रा मार्न प्रयोग हुने अत्यन्त घातक उक्त विषादी नेपालमा बिक्री वितरण गर्न बन्देज छ। प्रहरीले अमृताका श्रीमान प्रेमलाई बुधबार राति र सासु ससुरालाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जनाएको छ।

 

 

 

पुष्पकले बहिनीलाई कुनै खाना वा पेयमा विषादी मिलाएर घरपरिवारले हत्या गरेको दाबी गर्दै सोही अनुरूप अनुसन्धान अगाडि बढाउन माग गरेका छन्।

 

 

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आरोपितलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको थप अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेकाले अनुसन्धानमाथि अनावश्यक आशंका नगर्न आग्रह गरे। न्युजकारखाना

 

 

सम्बन्धित समाचार