ईश्वर पाेखरेल भन्छन् चुच्चे नक्सा गायब बनायाे गठबन्धन सरकारले

काठमाण्डौ – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्सा गायब बनाएकाे आराेप लगाउनुभएकाे छ ।

 

काठमाण्डाैमा नवनिर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई आज शुक्रवार सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले दलको साँधसीमा राखेर राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने काममा गठबन्धन लागिरहेको पनि बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केही दिनअघि प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्सा गायब बनाइएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, ‘केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा लुकाएर बुच्चे नक्सा सार्वजनिक गरिँदैछ, यसप्रति खेद प्रकट गर्ने कि नगर्ने ? दलको साँधसीमा राखेर होइन, राष्ट्रिय स्वाभिमानमाथि आघात पुर्‍याउने, आँच पुर्‍याउने कुरा हो । यसप्रति दुःख व्यक्त गर्नुपर्छ । यो कुनै पार्टी विशेष प्रचारको कुरा होइन, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा हो । गठबन्धन सरकारका प्रधानमन्त्रीज्यूको फोटो टाँसेको एक सय दिनका कामहरू भनेर उल्लेख गरेको पुस्तिकामा चुच्चे नक्सा मेटेर बुच्चे नक्सा बनाइएको छ । यसप्रति खेद व्यक्त गर्ने कि नगर्ने ? यस्ता कुराहरू जनताले बुझ्नुपर्छ । देशभक्ति, स्वाभिमानको कुरा गर्ने, गठबन्धन बनाउने तर यसको बारेमा चुँसम्म नबोल्ने ?’

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकता विधेयकबारे नेकपा एमालेले आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ र जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ भन्ने अडान लिएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले सीमापारिबाट विवाह गरेर ल्याएको भोलिपल्ट नै नागरिकता दिने र अर्को दिन जननिर्वाचित प्रतिनिधि बनाउने किसिमले नागरिकता विधेयक ल्याएको आरोप लगाउनुभयो । उहाँले गठबन्धन सरकारले संसद्को राज्य, व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिले ल्याएको प्रतिवेदन हटाइ सीमा मिचेर जो कोहीलाई पनि नागरिकता प्रदान गर्ने गरी बाटो खोलेको भन्दै खेद प्रकट गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘नागरिकता विधेयकमा हाम्रो अडान के हो भने आमाको नामबाट पनि सन्तानले नागरिकता पाउनुपर्छ, जन्मेको बेलामा आमाबाबु अङ्गीकृत नागरिक छन् भने उनीहरूका सन्तानले जन्मसिद्ध नागरिकता पाउनुपर्छ । तर अहिले के गरियो भने सीमापारिबाट विवाह गरेर आज ल्यायो, सिउँदोमा सिन्दुर हाल्यो, भोलिपल्ट नागरिकता दियो, पर्सि जननिर्वाचित प्रतिनिधि भयो, यो उचित हुँदैन । अहिले सत्ता टिकाउने, सरकारमा बस्ने नाममा, प्रधानमन्त्री र मन्त्री हुनका लागि घृणित कुराहरू भएको छ । जसको निन्दा र भर्त्सना गर्नुपर्दछ ।’

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले केपी ओलीको नेतृत्वमा पुनः सरकार बनाउने दाबी गर्नुभयो । उहाँले राष्ट्रिय विकास र समृद्धिको योजनामा पार्टी केन्द्रित हुने र नक्कली कुरा गरेर खेतका गह्रागह्रामा सुरुङ खन्ने काम नगर्ने बताउनुभयो । उहाँले रणनीतिक महत्त्वका सडकहरू केपी शर्मा ओलीको नेतृत्वमा सुरु भएको भन्दै अहिलेको सरकारले किन कटौती गरेको ? भन्ने प्रश्न गर्नुभयो ।

 

कार्यक्रममा बाेल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नागरिकका हक हित, विकास निर्माण र सामाजिक सुरक्षाका विषयमा सबै राजनीतिक पार्टी एक हुनुपर्ने बताउनुभयो । उज्यालो अनलाइन

 

सम्बन्धित समाचार