भीम रावलको अपिल अछाममा पहिराे पीडितलाई तत्काल राहत तथा उद्धारकाे व्यवस्था मिलाइयाेस्

काठमाण्डाै – नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

 

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १७ जना भन्दा बढीको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराउनु भयो ।

 

नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भीर हुने विश्वास व्यक्त गर्नु भयो ।

 

उहाँले भन्नुभयो, ‘कतिपय ठाउँमा बाटो अवरुद्ध भएको कारणले गर्दा घाइतेहरु भएको ठाउँमा पुग्न धेरै कठिन छ । त्यसकारण सेनाको हेलिकप्टरबाट चिकित्सकहरुको टोली त्यहाँ पठाइयोस् भन्ने कुरा पनि म माग गर्न चाहन्छु । स्थानीय प्रशासनसँग बुझ्दा राहत र उद्धारका लागि लत्ताकपडा, भाडाकुँडा जति आवश्यक पर्ने हो, त्यहाँ पर्याप्त छैन । त्यसका लागि समेत त्यहाँ तत्काल पठाइएन भने जो व्यक्तिहरु घाइते हुनु भएको छ ।

उहाँहरुलाई पनि बचाउन त्यसबाट कठिन हुन्छ । किनभने कतिपय ठाउँमा पहिरोका कारण बाटो अवरुद्ध भएको हुनाले त्यहाँ सुरक्षाकर्मीहरु पुग्न धेरै कठिन भएको छ । त्यसकारण यस्तो विपदको बेलामा हामी आज अन्तिम अवस्थामा पनि छौं । यसतर्फ म नेपाल सरकार र गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’उज्यालो अनलाइन

सम्बन्धित समाचार