दोहा,कतार- दलितहरुको हकहित र अधिकारको लागि परदेशी भुमी कतारबाट निरन्तर रुपमा सशक्त आवाज उठाउदै आएको दलित एकता संजाल नेपाल, कतार, विश्वकर्मा समाज कतार र परियार मित्रता समाज कतारले संयुक्त रुपमा रास्वपा सरकारलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका छ्न ।
सोमबार साँझ प्लाजामल स्थित सम्सरा ओरेन्टियल थाकाली रेष्टुरेन्टको सभाहलमा संजालका अध्यक्ष प्रकाश विश्वकर्मा (घताने) को सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन प्रवास नेपाली सम्पर्क विभाग कतारका सभापति अब्दुल करिम लगायत पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो भने परियार मित्रता समाजका अध्यक्ष सुमन नेपाल परियार विश्वकर्मा समाज कतारका अध्यक्ष दिपक विश्वकर्मा सहित तीन वटै संस्थाका कार्यसमिति पदाधिकारी एवं सदस्य र पत्रकारहरुको उपस्तिथिमा उक्त ज्ञापन पत्र सरकार सम्म पुर्याइ दिन आग्रह गर्दै सभापति करिमलाई बुझाएको हो ।

सभापति करिमलाई बुझाएको ज्ञापन पत्रमा देशमा परिवर्तनको नाममा पटक-पटक सरकार फेरिए पनि समग्र दलित समुदायले सदियौँ देखि भोग्दै आएको छुवाछूत, अपमान, हिंसा, अन्याय र उत्पीडन अझै पनि उस्तै रहेको र त्यस्को समाधानको लागि बनेको कानुन कडाइका साथ लागू हुन नसकेको गुनासो सहितको विशेष ६ वटा बुँदा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा जातीय छुवाछुत तथा विभेदविरुद्व विद्यमान कानुनलाई अझ प्रभावकारी र कडा बनाइयोस, दलित समुदाय माथि हुने हत्या, हिंसा, कुटपिट तथा सामाजिक बहिष्कारका घटनामा संलग्न दोषीलाई तुरुन्त कडा कारबाही गरियोस, दलित समुदायका मुद्दालाई राष्ट्रिय प्राथमिकताको विषय बनाई अविलम्ब विशेष नीति तथा कार्ययोजना ल्याइयोस, अन्तरजातीय विवाह गर्ने जोडीहरूको समाजिक तथा भौतिक सुरक्षा सुनिश्चित गरियोस, राज्यका हरेक निकायमा दलित समुदायको सम्मानजनक तथा समान सहभागिता सुनिश्चित गरियोस र जातीय विभेदसम्बन्धी घटनाको छानबिनका लागि निष्पक्ष तथा प्रभावकारी संयन्त्र निर्माण गरियोस भन्ने जस्ता विषयलाई समावेश गरिएको छ ।

कार्यक्रममा सभापति अब्दुल करिमले रास्वपाको सरकार बनेको डेढ महिनाको हाराहारी मात्रै भएको र अहिल्यै रिजल्ट देखिने बेला नभएकोले केही समय धैर्य गर्ने आग्रह गरे । उनले कथित दलित समुदायलाई मात्रै नभएर मुस्लिम, मधेसी, गरिब, निमुखाहरुले पनि विभिन्न खालको पीडा भोग्दै आएको स्मरण गर्दै रास्वपा सरकारले सबैलाई महसुस हुने गरि काम गर्ने कार्ययोजना बनाएर अघि बढिरहेको र छिट्टै त्यसको रिजल्ट नेपाली जनताले देख्न पाउने बताए । करिमले समाजले आफुलाई बुझाएको ज्ञापन पत्रको ओरिजिनल पेज नै पार्टी सभापति रवि लामिछाने र मन्त्रालय सम्म स्वयं पुगेर बुझाउने प्रतिबद्धता समेत जाहेर गरेका छन ।

संजालका महासचिव अमृत विश्वकर्माले सहजीकरण गरेका कार्यक्रममा परियार मित्रता समाज कतारका अध्यक्ष सुमन नेपाल परियारले आफ्नो भनाई सहितको स्वागत मन्तव्य राखेका थिए भने संजालका प्रमुख सल्लाहकार किरण परियार, संरक्षक कृष्ण परियार, विश्वकर्मा समाज कतारका अध्यक्ष दिपक विश्वकर्मा लगायतले आ-आफ्नो भनाइ राखेका थिए भने सभाध्यक्ष प्रकाश विश्वकर्मा (घताने) प्रवास नेपाली सम्पर्क विभाग कतारका सभापतिलाई बुझाएको ज्ञापन पत्र केन्द्र सम्म पुग्ने मात्र नभएर त्यसमा उठाइएका मुद्दाको विषयमा सरकारले उचित कदम चाल्नेमा आफू विश्वस्त रहेको बताए ।





प्रतिक्रया दिनुहोस्